कीर्तिमानी स्वर्ण विजेताको पीडा : बरु पार्ट टाइम जागिर दिए हुन्थ्यो !

0
197

१९ मंसिर, पोखरा । भारोत्तोलनकी सञ्जु चौधरीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्नै इतिहास रचेकी छन् । तर भविश्यको चिन्ताले उनलाई यो सफलतामा पूर्ण खुुसी हुन दिएको छैन । खेलभन्दा जागिर गर भनेर घरबाट आउने दबाबबाट आजित उनी भन्छिन्, ‘बरु बिहान बेलुका खेल्थ्यौं । दिउँसो पार्टटाइम जागिर पाए आफ्नो पनि जीवन चल्थ्यो, घरपरिवार पनि खुसी हुन्थे ।’ सञ्जु चौधरीका बाबा धुम्बाराही चोककै एउटा अस्पतालमा काम गर्छन् । उनी त्यही अस्पतालले व्यवस्था गरिदिएको आवासगृहमा जन्मिइन्, त्यहीँ हुर्किइन् । स्कुलले बनाइदिएको ‘कडा नियम’लाई शीरोपर गर्दै उनले त्रिकेटको ब्याट समाइन् र भनिन्, ‘सर म क्रिकेट खेल्छु ।’ कक्षा १० सम्म त्रिकेट खेलिन् । स्कुले जीवनमै प्रधानमन्त्री कप पनि खेलिन् । तर जब एसईई दिने बेला भयो । परिवारले भन्यो, ‘अब नखेल, पढाइमा ध्यान देऊ । खेलेर कहीं पुगिँदैन ।’

त्यसपछि उनले क्रिकेट खेल्न चट्टक्कै छोडिदिइन् र पढाइमा ध्यान दिइन् । एसईई सकियो । पास भइन् । बरु बिहान बेलुका खेल्थ्यौं । दिउँसो पार्टटाइम जागिर पाए आफ्नो पनि जीवन चल्थ्यो, घरपरिवार पनि खुसी हुन्थे मनमा खेलप्रतिको रुचि आँधी जसरी उर्लिरहेकै थियो । ‘मनको आँधीलाई कहाँ विश्राम दिऊँ ? क्रिकेट खेल्न त घर बाहिर धरै डुल्नुपर्छ घरकाले दिँदैनन्,’ चौधरी प्रत्येक पल यही दुविधाको बक्र रेखामा अल्झिरहेकी थिइन् । तर, मनको बेचैनीले समाधान पाएको थिएन । ज्यान पातलो, तर गह्रौं सामान सजिलै उठाउन सक्ने ल्याकत थियो । त्यति नै बेला सहरमा नयाँ मान्छे उदाए, भारोत्तोलन खेलप्रेमी । उनैले भने, ‘अब तिमी भारात्तोलनमा लाग्नुपर्छ । यो खेल तिमीलाई हुन्छ ।’ होस्टेल नजिकै, धेरै टाढा पनि जानु नपर्ने । उनको मनको बेचैनी केहीबेरमै दूर भएजस्तो भयो । ‘वेटलिफ्टङबारे थाहै थिएन । तर घरभन्दा टाढा जानुनपर्ने सुनेपछि हुन्छ भनिदिएँ,’ चौधरी भन्छिन्, ‘भार उठाउनु पर्ने रहेछ ।’ तर उनले हार मानिनन् । भारोत्तोलनमा लागिन् । फेरि परिवारले साथ दिएन । कुनै काम गरेर खाला भनेको खेलेर बिताउन थालेपछि कसको आमाबाबुले हुन्छ भनिदिउन् ? उनी फेरि अर्को समस्यामा परिन् । त्यसमाथि भारोत्तोलन खेलै महंगो !’ दाइ हुनुहुन्छ । उहाँलेचाहिँ मलाई खेलमै केही गर् भनिरहनुहुन्छ । उहाँको साथले नै म यहाँसम्म आइपुगेकी हुँ,’ सञ्जु भित्री कुरा सुनाउन थाल्छिन्, ‘घरमा त मलाई भन्नै डर लाग्थ्यो । यो चाहियो, त्यो चाहियो कसरी भन्नु र ?’ दाइले उनले मागेका सबै पूरा गरिदिए । उनले दाइको सहयोग खेलमा देखाइन् । अहिले कक्षा १२ सकेर फुर्सदमा बसेकी सञ्जु एपीएफबाट कन्ट्रयाक्टमा भारोत्तोलन खेल्छिन् । तर परिवार खुसी छैन । बारम्बार घरबाट फोन गर्दै भन्छन्, ‘बरु जागिर खा, भविश्य बिगार्न नलाग् खेलमा ।’

तर अहँ उनको मन मान्दैन । मनले जितेरै भारोत्तोलनको भार उठाइरहेकी छिन् । जम्मा ३ वर्ष भयो भारोत्तोलनमा लागेको । तर यही २ वर्षमा उनले अनेकन उपलब्धी हासिल गरेकी छिन् । २ वर्षअघि उनी कोरिया गइन्, काश्य पदक जितेर आइन् । ‘स्वर्ण नजितेर होला । कसैलाई थाहा भएन । तर, त्यतिबेला सिनियर र जुनियरमा काश्य पदक नेपालका लागि ल्याएकी थिएँ,’ मुस्कुराउँदै भन्छिन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पनि सञ्जुले स्वर्ण पदक जितिन् । यो जित केबल जितमात्रै थिएन । उनले ल्याएको स्वर्ण पदक नेपालका लागि एउटा कीर्तिमान थियो । उनी नेपाली भारोत्तोलन इतिहासमै सागमा स्वर्ण जित्ने पहिलो महिला बनिन् । र समग्र इतिहासमा २००६ पछि पहिलो । ‘भार उठाउँदा मलाई थाहा थिएन मेरो नाममा कीर्तिमान कायम भयो भनेर,’ उनी भन्छिन्, ‘गुरुहरुले तिमीले त इतिहास रच्यौ भनेपछि खुसीको सीमा नै भएन ।’ छोरीले स्वर्ण जितेको बाबाले थाहा पाएछन्, फोन गरेर भने, ‘ल छोरी परिवारको नाम राखिछस्, खुसी लाग्यो । अझै प्रगति गर्दै जानू ।’ बा फेरि व्यस्त भए । उनले धेरै कुरा गर्ने मौकै पाइनन् । दाइले दिएको कस्ट्युमले स्वर्ण जितें बन्द प्रशिक्षणका लागि काठमाडौंको एउटा होटलमा तीन महिनादेखि उनको टोली बसेको थियो । तर होटलवालले पैसा पाएनन् । ३ महिनासम्म पनि पैसा नपाएपछि साहू मुर्मुरिएका थिए । ‘दशैंसम्म पनि होटल साहूले पैसा नपाएपछि हाम्रो गुरु (प्रशिक्षक) आफैंले पर्सनल एकाउन्टबाट झिकेर दिनुभयो,’ साग दौरानका अनुभव सुनाउन थाल्छिन्, ‘गुरुले पैसा नदिएको भए के हुन्थ्यो थाहै छैन ।’ खेलमा भाग लिन पोखरा आइन् । तर खेलका लागि पोशाक आएन । खेलको अघिल्लो दिन उनको नाममा पोशाक आयो । तर शरीरको आधा भाग पनि पुगेन । लगाइनन् । दाजुले २ हप्ताअघि अभ्यासमा लगाउन कस्ट्युम किनिदिएका थिए । त्यही लगाएर प्रतिस्पर्धामा होमिइन् ।

र, स्वर्ण पदक हात पारिन् । ‘कपडा पहिले आएको भए नाप्नु हुन्थ्यो । यो भएन, त्यो भएन भन्नुहुन्थ्यो । तर के गर्नु अन्तिम समयमा आयो,’ सञ्जु भन्छिन्, ‘नयाँ लगाएर अनकम्फर्टेबल फिल गर्नुभन्दा पुरानै लगाउनु उत्तम लाग्यो ।’ घरमा भन्छन्ः बरु जागिर गर ‘अब तपाईंको आगामी लक्ष्य के छ ?’ अनलाइनखबरको यो प्रश्नमा सुरुमा भनिन्, ‘अझै राम्रो गर्ने, राम्रो खेल्ने, देशको नाम अझै माथि लैजाने ।’ तर केही समयपछि गम्भीर बन्छिन् र भन्छिन्, ‘बरु सरकारले पार्ट टाइम जागिर लगाइदिए हुन्थ्यो !’ खेलमा लागेरै जीवन धान्न गाह्रो हुने उनी बताउँछिन् । भन्छिन्, ‘अहिले कन्ट्रयाक्टमा खेलिरहेकी छु । यत्ति भएपछि घरकाले पनि राम्रो मान्न थालेका छन् । तर भोलि के गर्ने थाहा छैन ।’ उनी घरकाले खेलभन्दा जागिर गर्नमै जोड दिइरहेको बाध्यता सुनाउँछिन् । ‘खेलमा लागेर यस्तै गेम भयो भनेमात्रै त हो हाम्रो जीवन चल्ने । बाँकी समय त कसले हेर्छ र ?’ दुखेसो पोख्छिन्, ‘बरु बिहान बेलुका खेल्थ्यौं । दिउँसो पार्ट टाइम जागिर पाए आफ्नो पनि जीवन चल्थ्यो, घरपरिवार पनि खुसी हुन्थे ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here