यसकारण आठ वर्षे युट्युबरको तीन अर्ब कमाइ

0
127

अमेरिकी राज्य टेक्ससका एक जना आठ वर्षीय बालक अहिले चर्चाको चुलीमा छन्। धनाढ्यहरूको सूची प्रकाशन गर्ने फोब्र्स पत्रिकाले यी बालक युट्युबरले सन् २०१९ मा २ करोड ६० लाख डलर (करिब २ अर्ब ९६ करोड रुपैयाँ) कमाएको उल्लेख गरेपछि उनको चर्चा संसारभर छाएको हो। उनलाई फोब्र्सले सन् २०१९ मा सबैभन्दा बढी कमाउने युट्युबर घोषणा गरेको छ। यी आठ वर्षीय बालकको नाम हो, र्‍यान काजी। उनको युट्युब च्यानल ‘र्‍यान्ज वल्र्ड’को २ करोड ३० लाखभन्दा बढी सब्सक्राइबर छन्। उनी आफ्नो च्यानलमा खेलौनाबारे बताउँछन्, तिनको समीक्षा गर्छन्। सन् २०१८ मा र्‍यानले २ करोड ४० लाख डलर कमाएका थिए। गत वर्ष पनि उनी युट्युब च्यानलमार्फत सबैभन्दा धेरै कमाउने व्यक्ति थिए। यस वर्ष पाँच वर्षीया रुसी बालिका अनास्तासिया राद्जिन्स्काया धेरै कमाउने युट्युबरको सूचीमा तेस्रो भएकी छिन्। फोब्र्सका अनुसार युट्युबबाट उनले १ करोड ८० लाख डलर आम्दानी गरेकी छिन् काजीको युट्युब च्यानल विश्वप्रसिद्ध हुनुमा आमा लोन गुआनको प्रमुख हात छ। पूर्वशिक्षिका लोनले नै ‘र्‍यान्ज वल्र्ड’ युट्युब च्यानल सिर्जना गरेकी हुन्। गुआन परिवारको चार वटा कम्पनी छ। त्यसको जिम्मेवारी पनि लोनकै काँधमा छ। उनलाई श्रीमान् सियोनले सहयोग गर्छन्। उनीहरूका तीन वर्षीया जुम्ल्याहा छोरी पनि छन्। र्‍यानकै युट्युब च्यानलको कमाइबाट गुआन परिवारले दुइटा घर किनिसकेको छ भने थुप्रै सम्पत्ति पनि जोडिसकेको छ।

प्रहरीमा पेन्सनलगत्तै राजीनामा दिने बढे काठमाडौं : सरकारले प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि असन्तुष्ट प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राजीनामा दिए। उनको राजीनामालाई संगठनभित्रैका वरिष्ठ अधिकृतहरुले दुई तरिकाबाट बुझे। एकाथरी राजीनामा दिन तयार भए अर्काथरी संगठनभित्रै बसेर नीतिगत तहमा सुधार गर्न केन्द्रित भए। अर्का डीआईजी नवराज सिलवालले आफू महानिरीक्षक नभएपछि राजीनामा दिए। हाल नेकपाका सांसद समेत रहेका सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकन राम्रो हुँदाहुँदै अर्का डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाइएको भन्दै अदालतमा रिट दर्ता गरे। अदालतबाट मुद्दा जिते पनि सरकारले सिलवालको सट्टा प्रकाश अर्याललाई महानिरीक्षक बनायो। एसएसपीबाट डीआईजी बढुवामा आफूलाई छुटाएको भन्दै प्रहरी वरिष्ठ उपरीक्षक लव विष्टले राजीनामा दिए। दाबेदार हुँदाहुँदै पनि बढुवामा नियतबस छुटाइएको भन्दै विष्टले राजीनामा दिएका थिए। यी तीनवटा घटना उदाहरण मात्रै हुन्। ठूला पदका प्रहरी अधिृकतले बढुवामा असन्तुष्टिपछि राजीनामा दिए पनि प्रहरी निरीक्षकभन्दा मुनिका कर्मचारीको राजीनामाको कारण भने भिन्न छ। महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले भने, ‘राजीनामा धेरै आउन थाल्यो। रोक्न पनि नसकिने भइयो। ’ प्रहरी प्रधान कार्यालयकै अभिलेखले पनि राजीनामाको लहर बढेको देखाउँछ। आर्थिक वर्ष ०७४/०७५ मा तीन डीआईजीसहित दुई हजार पाँच सय ६४ जनाले राजीनामा दिएका थिए। ०७५/०७६ मा तीन जना प्रहरी वरिष्ठ उपरीक्षकसहित तीन हजार ७३ जनाले राजीनामा दिएका थिए। चालु आवको पुससम्ममा एक हजार दुई सय नौ जनाले राजीनामा दिएका छन्। प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री भन्छन्, ‘संगठनभित्र सेवा सुविधा कम भएपछि राजीनामा आउन थालेको हो।’ उनले वैदेशिक रोजगारमा पूर्वप्रहरीले सुरक्षा गार्डको राम्रो जागिर पाउने भएकाले पनि राजीनामा दिएको बताए ‘राजीनामा दिने दर्जा हेर्नुभयो भने धेरै सई, असई, हवल्दार र जवानको संख्या छ’, क्षेत्रीले भने, ‘पेन्सन हुनेबित्तिकै छाड्ने संख्या बढ्दो छ।’

बालबालिकालाई प्रधानमन्‍त्रीको सुझाव : राजनीतिमा नलाग काठमाडौं : प्रधानमन्त्री केपी ओलीले बालबालिकालाई पढाइमा केन्द्रित हुन सुझाव दिएका छन् । बुधबार ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक कार्यक्रममा कक्षा १० की छात्रा अस्मिता परियारले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन् । बालाजु बसेर ज्ञानमन्दिर विद्यालयको कक्षा १० मा अध्ययनरत हुम्लाकी अस्मिताले हामीजस्ता विद्यार्थी राजनीतिमा लाग्नु उपयुक्त छ कि छैन ? भन्ने प्रश्न सोधेकी थिइन् । जवाफ दिदै ओलीले भने, ‘अहिले राजनीतिमा होइन पढाइमा लाग्नुहोस् । आँखा खोलेर ज्ञान लिनुहोस् । पछि राम्ररी बुझेर राजनीतिमा लाग्नेगरी तयारी गर्नुहोस् ।’ उनले राजनीतिमा लाग्दा ठूलो संकल्प गर्नुपर्ने कुरासमेत बालबालिकालाई सम्झाए ‘विद्यार्थी राजनीतिमा लाग्नुपर्छ म भन्दिन । तपाईंहरुले अध्ययन गर्नुपर्छ । अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्छ । सँगसँगै सामान्य ज्ञानको रुपमा देशमा के भइराखेको छ, कस्तो भइराखेको छ, त्यो कुरा थाहा पाउनुपर्छ । सही के हो र गलत के हो थाहा पाउनुपर्छ । राजनीतिको बारेमा थाहा पाउनुपर्छ’, जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘राजनीति देशका नीतिमध्ये मूल नीति हो । राजा र राणाको शासनकालमा देश विकासमा जान सकेन । राजनीति ठिक हुँदा मात्र देश अगाडि बढ्छ । अहिले देशमा शान्ति सुरक्षा छ । राजनीतिक उद्देश्य सही छ । राजनीति गलत भए क्रान्तिका नाममा अनेक खालका ध्वंश मच्चाउने गर्छ । राजनीति देशको मूल नीति भएकाले नयाँ पुस्ताले यसको विषयमा थाहा पाउनुपर्छ ।’ प्रधानमन्त्री ओलीले देशको विषय थाहा पाउन राजनीति बुझ्नु आवश्यक भएको प्रष्ट पारे । उनले मतदाता भएपछि सही मान्छेलाई मत दिने विषयमा जानकारी राख्नुपर्ने बताए । सँगै ओलीले विद्यार्थीबाटै नेता, डाक्टर, सेना, प्रहरी, इन्जिनियर, वकिल, पाइलट सबै बन्ने भएकाले सबै विषयमा चासो दिनुपर्नेमा जोड दिए । ‘देश कसरी अगाडि बढेको छ भन्ने कुरा थाहा पाउनुपर्छ । दलीय व्यवस्थामा राम्रा र नराम्रा विषय छन् । राम्रा विषयलाई पछ्याउनुपर्छ । तपाईं मतदाता भएपछि ठिक दललाई मतदान दिने कुरामा ध्यान दिनुपर्छ । तर, विद्यार्थीले पढाइ छोडेर राजनीतिक गर्नुपर्छ भन्दिन । विद्यार्थीले राजनीति गर्दै, मन्त्री, प्रधानमन्त्री राष्ट्रपति हुनुपर्छ’, ओलीले भने, ‘तपाईंमध्येबाटै कोही सचिव हुनुपर्छ, कोही सेना हुनुपर्छ, कोही पुलिस हुनुपर्छ, कोही डाक्टर हुनुपर्छ, कोही वकिल हुनुपर्छ, कोही इन्जिनियर हुनुपर्छ । जसको रुचि जुन विषयमा छ त्यही क्षेत्रमा जानुपर्छ ।’

आआफ्नो क्षेत्रमा सबै लाग्नुपर्नेमा जोड दिँदै ओलीले राजनीतिमा लाग्न विभिन्न कुरा त्याग गर्नुपर्ने कुरा विद्यार्थीलाई सम्झाए । ‘तपाईंहरुले अहिले पढाइ छोडेर राजनीति गर्नु हुँदैन । अहिले तपाईंहरु नगरपालिकामा उठ्न पाउनुहुन्न, मेयरमा उठ्न पाउनुहुन्न, सांसदमा उठ्न पाउनुहुन्न, त्यसैले तपाईं अहिले के राजनीति गर्नुहुन्छ र ? अहिले पढाइमा ध्यान दिनुहोस् । राजनीतिबारे ध्यान दिनुहोस् ज्ञान बढाउनुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा जान खोज्नेले धेरै कुरामा प्रतिवद्धता जनाउनुपर्छ । म भ्रष्ट हुन्न, म इमान्दार राजनीति गर्छु । देश र जनताका लागि राजनीति गर्छु । देश, जनता, दाजुभाइ दिदीबहिनीका लागि काम गर्छु भनेर राजनीतिमा जानुहोस् । राजनीतिमा गएपछि राज्यको ढुकुटीमा हात हाल्ने हो । त्यो हात निकाल्दा तपाईंले चोखो हात निकाल्नु हुन्छ कि हुन्न भन्ने गम्भीर प्रश्न हुन्छ । त्यो इमान राख्न सक्नेगरी राजनीतिमा जाने संकल्प गर्नुहोस् ।’ ओलीले राजनीतिमा प्रवेश गर्नेले धेरै संकल्प गर्नुपर्नेकुरा बालबालिकालाई सुनाए । ‘म आफू पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने मेरो संकल्पले परिणाम निकाल्न थालेको छ । म के भन्छु भने आफू बन्ने कि देश बनाउने ? आफन्त बनाउने कि देश बनाउने ? भन्ने प्रश्नमा ध्यान दिनुपर्छ’, ओलीले भने, ‘राजनीतिमा योग्य मान्छेलाई योग्य ठाउँ दिन आफन्तको माया छोड्नुपर्छ । अहिले राजनीतिमा होइन पढाइमा लाग्नुहोस् । पछि राम्ररी बुझेर लाग्नेगरी तयारी गर्नुहोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here