गुगलले ह्याकरलाई दियो ८० करोड पुरस्कार !

0
142

संसारको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले एक वर्षमा झण्डै ८० करोड रुपैयाँ बराबरको रकम ह्याकरहरूलाई पुरस्कार दिएको छ । ह्याकरहरूलाई सजाय गर्नुको साटो गुगलले किन पुरस्कार दियो त ? वास्तवमा इन्टरनेटलाई सुरक्षित बनाउन सहयोग गरेको भन्दै गुगलले सन् २०१९ मा ह्याकरहरूका निम्ति ६५ लाख डलर खर्चिएको हो । गुगलका विभिन्न प्रडक्टहरूमा रहेका सेक्योरिटीसम्बन्धी कमजोरी तथा बगहरू पत्ता लगाइ दिएबापत गुगलले आफ्नो भल्नेरेबिलिटी रिवार्ड प्रोग्राम अर्थात् जोखिम पुरस्कार कार्यक्रमअन्तर्गत ह्याकरहरूलाई पुरस्कृत गर्दै आएको छ । ह्याकरहरूले गुगलका क्रोम ब्राउजरदेखि एन्ड्रोइडसम्मका सेवाहरूमा रहेका साइबर सुरक्षा कमजोरी तथा बगहरू पत्ता लगाइदिएर पुरस्कार जित्ने गरेका छन् । यसले गुगललाई प्रयोगकर्ताका लागि बढी सुरक्षित बनाउनका लागि सहयोग पुग्ने गरेको छ ।

गुगलले आफ्नो आधिकारिक ब्लग पोष्टमा भनेको छ, ‘सन् २०१० देखि हामीले आफ्नो भल्नेरेबिलिटी रिवार्ड प्रोगामलाई गुगलका थप प्रडक्टहरूमा पनि विस्तार गरेका छौं । यसमा क्रोम, एन्ड्रोइड तथा अन्य प्रडक्टहरूको गलत प्रयोगलाई पनि सामेल गरिएको छ । गुगल प्लेस्टोरमा विद्यमान लोकप्रिय थर्ड पार्टी एपहरू समेत यसमा समेटिन्छन् । यसको सहयोगले कुनै पनि एपमा फेला पर्ने सुरक्षा त्रुटि तथा कमजोरीहरूका बारेमा एप डेभलपर्सलाई बताउन सकिनेछ र त्यस्तो कमजोरीलाई सच्चाउन सकिनेछ । अहिलेसम्म हामीले ह्याकरहरूलाई २ करोड १० लाख डलर पुरस्कार दिइसकेका छौं ।’ गुगलका अनुसार, अनुसन्धानकर्ताहरूका तर्फबाट अहिलेसम्म सबैभन्दा धेरै ५ लाख डलर रकम च्यारिटीलाई दिइएको छ । पुरस्कारको रूपमा गुगलले अधिकतम सीमा क्रोमका लागि ५ हजार डलरबाट बढाएर १५ हजार डलर पुराइएको छ । त्यस्तै, हाई क्वालिटी रिपोर्टका लागि अधिकतम पुरस्कारको राशि १५ हजार डलरबाट बढाएर ३० हजार डलर बनाइएको छ । ब्लगमा गुगलले लेखेको छ, ‘क्रोम फज्जर प्रोग्राममा फज्जर्सका तर्फबाट फेला पारिने बग्सका लागि अतिरिक्त बोनस पनि दोब्बर पारेर १ हजार डलर बनाइएको छ ।’ एन्ड्रोइड सेक्योरिटी रिवार्डअन्तर्गत फूल चेन रिमोट कोड तथा गुगलका पिक्सेल डिभाइसको टाइटन एम सेक्योरिटी एलिमेन्टस ह्याक गर्न सक्नेलाई १० लाख डलरसम्मको पुरस्कार राशि तोकिएको छ । गुगलको नयाँ पिक्सेल डिभाइसमा रहेको टाइटन एम चिप वास्तवमा एक इन्टरप्राइज ग्रेड सेक्योरिटी चिप हो । जसलाई गुगल स्मार्टफोनका लागि कस्टम बिल्ड गरिएको छ । यसको सहयोगबाट डिभाइसमा रहेको सेन्सिटिभ तथा अपरेटिङ सिस्टमसँग सम्बन्धित डाटालाई सुरक्षित राखिन्छ । टाइटन एपलाई सबै पिक्सेल डिभाइसको बिल्ट इन सेक्योरिटी सिस्टमको सबैभन्दा शक्तिशाली प्रणाली मानिन्छ । गुगलका अनुसार, सन् २०१९ मा ह्याकरहरूलाई दिइएको ६५ लाख डलर पुरस्कार कुनै पनि एक वर्षमा दिइएको अहिलेसम्मकै ठूलो रकम हो । त्यसरी दिइएको पुरस्कार मध्ये ५ लाख त ह्याकरहरूले उल्टै विभिन्न च्यारिटी संस्थाहरूलाई दान गरेका छन् । सन् २०१९ मा एकजना ह्याकरले प्राप्त गरेको अधिकतम पुरस्कार राशि २ लाख १ हजार डलर रहेको छ । कूल ४ सय ६१ जना ह्याकरहरूले गत वर्ष गुगलबाट पुरस्कार पाएको बताइएको छ ।

बुटवलमा नवौं सूचना प्रविधि मेला सुरु १७ माघ, बुटवल । बुटवलमा नवौं संस्करणको सूचना तथा संचार प्रविधि प्रदर्शनी मेला (क्यान इन्फोटेक) सुरु भएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रुपन्देहीको आयोजनामा बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा सञ्चालित मेलाको प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशको विकास र समृद्धिमा सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले यससँग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्रको ध्यान जानुपर्ने बताए । सूचना प्रविधिमा नयाँ नयाँ आविष्कार गरेर नै विश्वका थुप्रै मुलुकहरु विकसित र समृद्ध भएको औंल्याउँदै मन्त्री बरालले प्रदेश सरकार यस क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका केन्द्रीय अध्यक्ष नवराज कुंवरले सूचना प्रविधि क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने खाँचो औंल्याए । सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उतपदन, नयाँ खोज र अनुसन्धानमा क्यान महासंघ तीनै तहका सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको कुंवरले बताए । मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका १ सय १० स्टलहरुको सहभागिता रहेको क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले जानकारी दिए । मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here